“अब देशसँग प्रेम गर्ने मन छ “
राजा मारिएको बर्ष जन्मिएको मलाई,
कसैले सिकाएन देशको गुणगान गाउन ।
कसैले बताएन देशसँग माया लाउन ।।
सधैँ देश र राजनीतिमाथि नाक खुम्च्याइयो ।
सतिले सरापेको भनेर देशलाई आरोप लगाइयो ।।
यत्ति भएपछि बालकलाई के चाहियो ।
यसैगरी मनमनै देशलाई ठम्याइयो ।।
भ्रम भ्रममा बाल्यकाल बिताइयो ।। १ ।।
अब अलिकति ठुलो भइयो ।
फेर्बदल गरेर अनेकाैँ पार्टि धाइयो ।
देश भत्काउनेका पछि पछि लाइयो ।।
सडक सडकमा टायर जलाइयो ।
ढुङ्गा मुढा मात्र हैन, खुकुरी पनि समाइयो ।
तर देशको झन्डा कहिल्यै समाइएन ।
देशको नक्सा कहिल्यै चाहिएन ।।
सँधै नेता र नेतृत्वसँग देशलाई दाँजियो ।
भ्रष्टचारी र लुटेरालाई बचाउन बाँझियो ।।
गल्लिगल्लिमा देश सम्झेर थुकियो ।
चोक चोकमा देशमाथि भुकियो ।।
युवावस्था देशविरूद्ध खटाइयो ।।
जोश जाँगर र जवानीलाई कटाइयो ।।२।
खै कहिल्यै गरीएनछ देशलाई माया ।
कहिल्यै गरिएनछ देशप्रति गर्व ।
कहिल्यै भएनछ देशलाई गहिरीएर सोँच्ने फुर्सद् ।
कहिल्यै सम्झिएन देशले दिएको योगदान ।
कहिल्यै बुझिएन पुर्खाको बलिदान ।
कहिल्यै पल्टाइएन देशको ईतिहास ।
कहिल्यै गरिएन देशमाथि कृतज्ञता ।।
आज आफ्नै अज्ञानतामाथि दया लाग्छ ।
आज आफ्नै कर्मप्रति पश्चाताप लाग्छ ।
अटल अगम र अनन्त काल देखिको निर्दोष मेरो देश
मैले नबुझी नबुझी बुढो भएँछु ।
अब देशसँग प्रेम गर्ने मन छ ।।३।।
बालकृष्ण "अज्ञात"
स्याङ्जा

आहै 🌺📿💐