रुपन्देही, चैत १ – असर्दी यूथ रुपन्देहीले रम्भा गाउँपालिका-१ लाई १० वटा डस्टबिन प्रदान गरेको छ। स्थानीय वासिन्दा तथा सरकारी पदाधिकारीहरूको उपस्थितिमा चैत १ गते आयोजित एक कार्यक्रममार्फत उक्त डस्टबिन हस्तान्तरण गरिएको हो।

असर्दी यूथका सदस्यहरूले आफ्नो व्यक्तिगत पकेट मनी संकलन गरेर यस पहललाई सम्भव बनाएका थिए। यसका माध्यमबाट उनीहरूले समुदायमा सरसफाइ र वातावरणीय सचेतना फैलाउने उद्देश्य राखेका छन्।
कार्यक्रमका क्रममा असर्दी यूथका प्रतिनिधिहरूले सरसफाइ र वातावरणीय सचेतनाको महत्वबारे प्रकाश पार्दै समुदायलाई फोहोर उचित रूपमा व्यवस्थापन गर्न आग्रह गरे। स्थानीय बासिन्दा तथा वडा प्रतिनिधिहरूले यो अभियानप्रति आभार व्यक्त गर्दै वातावरण सुधारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यस अवसरमा असर्दी यूथ रुपन्देहीका संस्थापक अध्यक्ष दिपक अर्याल कार्यक्रममा उपस्थित हुन नसके पनि उनले आफ्नो सन्देश पठाएका थिए। सन्देशमा उनले भने, “समाज परिवर्तनका लागि साना-साना पहलहरूले ठूलो प्रभाव पार्न सक्छन्। सरसफाइ हाम्रो दायित्व हो, र हामी सबैले मिलेर वातावरणलाई स्वच्छ बनाउन पहल गर्नुपर्छ।”
स्थानीय बासिन्दाहरूले असर्दी यूथको प्रयासको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताए।
असर्दी यूथ रुपन्देहीले यसअघि पनि विभिन्न सामाजिक तथा वातावरणीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समूहले आगामी दिनमा पनि सरसफाइ र वातावरण संरक्षणका लागि यस्ता गतिविधिहरूलाई विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।






